असार १७, २०८३ बुधबार

देवदह (रूपन्देही), १७ असारः स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको छ । रूपन्देहीको रोहिणी गाउँपालिकावासीले स्थानीय तहमा सञ्चालित हाटबजारहरूको अनुगमन गर्न समेत आग्रह गरेका छन् । 

रोहिणी–४ का सञ्जयकुमार गुप्ताले धकधई बजारलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो । ‘उपभोक्ता ठगिनु हुँदैन । यसका लागि बजार अनुगमन गर्नुपर्छ”, उहाँले भन्नुभयो । गाउँपालिकावासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्न ‘एक घर, एक धारा’ को व्यवस्था गर्नुपर्नेमा गुप्ताले जोड दिनुभयो ।

स्थानीय सतिशचन्द्र मिश्राले सङ्घीय सरकारले थालेका योजना सम्पन्न गर्न स्थानीय तहले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले ताल, पोखरीलगायत सार्वजनिक सम्पत्ति संरक्षणमा ध्यान दिन आग्रह गर्दै शिक्षाको विकासमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले सार्वजनिक सम्पत्ति संरक्षणलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले विगत र अहिलेको तुलना गर्दा धेरै परिवर्तन भएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले बजारमा देखिएका समस्या समाधान गर्न अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएको बताउनुभयो ।